विश्वकै वृद्ध फ्रिडीको निधन

केपटाउन(एजेन्सी) । विश्वकै सबैभन्दा वृद्ध उमेरका दक्षिण अफ्रिकाली नागरिक फ्रिडी ब्लोम्सको १ सय १६ वर्षको उमेरमा निधन भएको छ । फ्रिडीको आधिकारिक कागजात अनुसार उनको जन्म सन् १९०४ को मेमा इस्टर्न केप प्रदेशमा भएको थियो । तर गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको यो विषयलाई प्रमाणिकरण गरिएको छैन ।

सन् १९१८ मा उनी युवा अवस्थामा हुँदा उनको परिवार स्पेनिस फ्लुको महामारीका कारण सखाप भएका थिए । त्यसपछि उनले दुई विश्वयुद्ध र रंगभेद भोगे । सन् २०१८ मा उनले बीबीसीसँगको कुराकानीमा लामो समय बाँच्नका लागि आफूसँग गोप्य कुरा नरहेको बताएका थिए । ‘त्यसमा एउटा मात्र कुरा छ, भगवान मान्छे भन्दा माथि छन् । उनीसँग सबै शक्ति छ । मसँग केही छैन’, उनले भनेका थिए ।

ब्लोमले जीवनका महत्वपूर्ण समय मजदुरका रुपमा बिताए । उनले शुरुवाती दशक कृषिकर्म र त्यसपछिका समय निर्माण उद्योगमा बिताए । ८० वर्षको उमेरमा उनले अवकास पाए । धुम्रपानको लत बसेका उनले धेरै वर्षसम्म मदिरा पान पनि गरे । कोरोना भाइरसका कारण लागु गरिएको लकडाउनका कारण उनले चुरोट किन्न नपाएपछि आफ्नै शैलीको चुरोट खाएर १ सय १६ औं जन्मदिन मनाएका थिए । परिवारका अनुसार उनको केपटाउनमा प्राकृतिक हिसाबले निधन भएको थियो ।