राष्ट्रप्रेममा मुटुभरि देश बोकी

काठमाडौं । कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीत ‘मुटु भरि देश बोकी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो ।

रुपन्देहीको देवदहका स्थायी बासिन्दा गीतकार शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा बस्छन् । गीतमा गायक रामकृष्ण ढकाल तथा गायिका मेलिना राईको स्वर छ । गीतमा आनन्द राईको संगीत छ । महाराज थापा संगीत संयोजक रहेको गीतमा साजन शाहको मिक्सिङ छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा महेश्वर शर्मा, गायक रामकृष्ण ढकाल, गायिका मेलिना राई, संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मा, सरोज दाहाल र साक्षी लम्साल फिचर्ड छन् ।

भिडियोमा राज पोखरेल र दीपेन्द्र भट्टको छायांकन र विकास दाहालको सम्पादन छ । नेपाली साहित्यमा कलम चलाउँदै आएका गीतकार शर्माको यसअघि कविता संग्रह ‘प्रवासका जूनहरु’ प्रकाशित भएको थियो । शर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्षसमेत हुन् ।