सञ्जयलाई ७ सय ३५ करोड लगानी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्तको जीवन चौथो चरणको क्यान्सरबाट गुज्रिरहेको समाचार सार्वजनिक भएपछि उनको स्वास्थ्यप्रति चासो र चिन्ता गर्ने जमातको संख्या बढ्दो छ । फिल्मका व्यापार विश्लेषकहरु सञ्जयले अभिनय गरेका फिल्मको अब के हुनेछ भन्ने चिन्तन गरिरहेका छन् । सञ्जयसँग वर्तमान समयमा ६ ठूला बजेटका फिल्म छन् । जसमा केहीको काम पुरा भइसकेको छ भने केहीको सुटिङ बाँकी नै छ । समाचारअनुसार सञ्जयको आउन लागेको ६ फिल्ममा भारतीय फिल्म उद्योगले ७ सय ३५ करोड लगानी गरेको छ ।

निर्देशक महेश भट्टको फिल्म ‘सडक २’ यही २८ तारिखमा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ । फिल्ममा सञ्जयका अलावा आदित्य रोय कपूर, पूजा भट्ट र आलिया भट्टलगायतको अभिनय छ । अजय देवगन र सञ्जय दत्त अभिनित फिल्म ‘भुजः द प्राइड अफ इण्डिया’ डिज्नी प्लस हटस्टारमै रिलिज हुँदैछ । फिल्मको रिलिज मिति हालसम्म फाइनल भइसकेको छैन । फिल्ममा सोनाक्षी सिन्हा, नोरा फतेही, शरद केलकरजस्ता कलाकारको अभिनय छ ।

अर्को एक्सन इन्टरटेनर फिल्म ‘तोरबाज’ नेटफिलिक्स मा रिलिज हुनेछ । फिल्ममा सन्जयका अलावा नरगिस फाखरी र राहुल देवको पनि अभिनय छ । साउथ सुपरस्टार यश स्टारर ‘केजीएफ २’ मा सञ्जय खलनायकको भूमिकामा देखिँदैछन् । यो फिल्मको सुटिङ पुरा भइसकेको छ । आगामी वर्षसम्म रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

रणवीर कपूर र सञ्जय दत्त स्टारर फिल्म ‘शमशेरा’ निकै लामो समयदेखि अड्किएको छ । यो फिल्मको तीनदेखि चार दिनको काम बाँकी छ । यो फिल्मलाई चाँडै नै निर्माताले पुरा गर्नेछन् ।  अक्षय कुमारको ठूलो बजेटको फिल्म ‘पृथ्वीराज’मा सन्जय प्रमुख भूमिकामा निभाउदैछन् । फिल्मको ४० प्रतिशत छायांकन भइसकेको छ । तर सञ्जयको अस्वस्थताको खबर सार्वजनिक हुनासाथ यी फिल्मको भविष्य के हुने भन्ने निक्र्यौल भएको छैन ।