बार्सिलोना(एजेन्सी) । फुटबल इतिहासको महान खेलाडीमध्येका एक र स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी २० वर्षपछि क्लब छोड्ने तयारीमा छन् । मेस्सीले यो विषयमा क्लबसँग आफ्नो इच्छा व्यक्त गरिसकेका छन् । मेस्सीले मंगलबार मात्र आफ्नो इच्छा बारे स्पेनिस क्लबलाई जानकारी दिएका हुन् । मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बायर्न म्यूनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेको थियो । यसपछि नै मेस्सी बार्सिलोना छोडेर कुनै अन्य क्लबमा खेल्न जाने चर्चा चलेको थियो ।
मेस्सीलाई लिएर पछिल्ला केही वर्षदेखि हरेक नयाँ सिजनको शुरुवात अघि अफवाह र अड्कलबाजी लगाउने गरिन्छ । तर यसपटक भने मेस्सी आफैंले क्लबसँग कुराकानी गरेका छन् । मेस्सीले बार्सिलोना छोड्ने सोच बनाएपछि म्यानचेस्टर सिटी, पीएसजी जस्ता आर्थिक रुपमा मजबुत क्लबले उनलाई आफ्नो क्लबमा सामेल गराउने प्रयास गरिरहेका छन् ।
गत साता बार्सिलोनाका नयाँ कोच रोनाल्ड कोमनसँगको कुराकानीमा अर्जेन्टिनाका यी दिग्गज खेलाडीले हालको लागि केही समय बार्सिलोनामै रहने जानकारी दिएका थिए । तर मेस्सीको बार्सिलोना छोड्ने निर्णयले बार्सिलोना र मेस्सीका फ्यान निरास बनेका छन् ।
यूरोपियन मिडियाका अनुसार मंगलबार मेस्सीले क्लबसँग आफूले २० वर्षको पुरानो सम्बन्ध तोड्न चाहेको र अर्को क्लबबाट खेल्ने इच्छा जाहेर गरेका थिए । मेस्सी २०२१ सम्म स्पेनिस क्लबमा रहने सम्झौता गरिएको छ । तर उनलाई किन्नु कुनै पनि क्लबका लागि सजिलो पक्कै छैन । किनकी उनको स्थानान्तरण मूल्य अत्यन्त महंगो छ । यदी कसैले मेस्सीलाई किन्न चाहन्छ भने उसले बार्सिलोनालाई स्थानान्तरण शुल्क ७ सय मिलयन यूरो दिनुपर्ने हुन्छ ।