सुशान्तको आत्महत्या कि हत्या ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको भनिए पनि उनका परिवार विगत दुई महिनादेखि आत्महत्या नभई हत्या मान्दै आएका छन् । उनका परिवारका कोही पनि सदस्य उनले आत्महत्या गरेको हो भन्ने स्वीकार्न तयार छैनन् । सीबीआईले पनि यो मुद्धालाई नयाँ सिराबाट अनुसन्धान गर्न जुटेको छ । यस्तो बेला सुशान्तका विषयमा एकपछि अर्को नयाँ कुराहरु आइरहेका छन् । केही समय अघि सुशान्तकी बहिनी श्वेता सिंह कीर्तिले सुशान्तको हत्या भएको दाबी गरेकी थिइन् ।

श्वेताले सामाजिक सन्जालमा एक भिडियो शेयर गरेकी छन् । भिडियोमा एक व्यक्ति सुशान्तको हत्या भएको दाबी गरिरहेका छन् । भिडियोमा देखिए अनुसार ती व्यक्ति एक अस्पताल कर्मचारी हुन् । जसले सुशान्तको पार्थिव शरीरलाई निकै नजिकबाट हेरेका थिए ।

‘यो हत्या नै हो । सुशान्त सिंह राजपूतको काँधमा एक कालो निशाना थियो । यस्तो निशाना उनको शरीरमा १० देखि १५ वटासम्म थियो । यी सबै निशानामा सेलो टेप लगाइएको थियो । म एम्बुलेन्समा सुशान्त सिंह राजपूतको पार्थिव शरीरलाई घाटसम्म लिएर गएको थिएँ । उनको एउटा खुट्ट भाँचिएको छ’, उनले भनेका छन्, ‘एक लामो कपालवाला व्यक्तिले मलाई रिया चक्रवर्तीलाई फोन गर्न भने । रिया शवलाई हेर्न चाहन्छिन् भन्थ्यो त्यसपछि रियाले सुशान्तको पार्थिव शरीरसँग माफी मागेकी थिइन् ।’

यो भिडियो शेयर गरेपछि श्वेता भावुक भएकी थिइन् । ‘हे भगवान । यो खबर सुनेपछि मेरो मुटु पटक–पटक टुट्यो’, उनले लेखेकी छन्, ‘यी मानिसले मेरो भाइलाई आखिर के गरे । भगवानका लागि भए पनि यिनीहरुलाई पक्रनु पर्यो । मलाई न्याय चाहिएको छ ।’