सडक २ लाई दर्शकको गाली

मुम्बई(एजेन्सी) । अभिनेत्री आलिया भट्ट र अभिनेता सञ्जय दत्तको हालै रिलिज फिल्म ‘सडक २’को अवस्था दयनीय बनेको छ । फिल्मको ट्रेलरमा अधिक डिसलाइक आएपछि फिल्मको रिलिज अवस्थामा पनि उस्तै रह्यो । यो फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको थियो । तर फिल्मलाई नकारात्मक प्रतिक्रिया बढी आयो । फिल्मले आइएमडीबीमा १ दशमलब १ रेटिङ पायो । जसकारण फिल्मले ठूलो घाटा व्यहोर्नु पर्यो ।

फिल्मलाई सामाजिक सन्जालमा दर्शकले अधिक गाली गरेका छन् । फिल्मका व्यापार विश्लेषकले पनि फिल्मलाई यति कम स्टार दिएका छन् कि यो देखेर फिल्मकर्मीलाई ठूलै झट्का लाग्ने अनुमान लगाइएको छ । महेश भट्टको निर्देशनमा बनेको फिल्ममा छोरी आलिया प्रमुख भूमिकामा छिन् । फिल्ममा आदित्य रोय कपूरको पनि अभिनय छ ।

फिल्मको घोषणा हुनासाथ यो फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित थिए । यद्यपि फिल्म रिलिज पछि प्राप्त प्रतिक्रिया हेर्दा दर्शकको उत्साह चिसिएको छ । फिल्म रिलिज पछि आएको दर्शक प्रतिक्रियाले निर्माताहरुलाई निराश बनाएको छ । केही दर्शकले फिल्म हेर्नु जोखिम मोले बराबर रहेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सन्जाल प्रयोगकर्ताले फिल्मको विषयलाई लिएर मिम्स बनाइरहेका छन् । प्रयोगकर्ताले फिल्म हेरेपछि आफ्नो समीक्षा शेयर गर्दै वर्षकै खराब फिल्ममध्येको एक भनी आलोचना गरेका छन् । यो भन्दा ‘रसोडे में कौन था’ वाला भिडियो नै धेरै राम्रो रहेको उनीहरुको भनाई छ । उनीहरुले फिल्मलाई बहिस्कार गर्नुपर्ने माग गरेका छन् ।