एकसाथ दुबै हातले लेख्थे सुशान्त

मुम्बई(एजेन्सी) । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको निजी जीवनको बारेमा एउटा नयाँ तथ्य बाहिर आएको छ । त्यो के हो भने उनी एकसाथ दुई हातले लेख्दथे । एकसाथ दुवै हातले लेखेको भिडियो उनकी दिदी श्वेता सिंह कीर्तिले मंगलबार सार्वजनिक गरेकी छन् । उनले भिडियोको क्याप्सनमा ‘दुलर्भ प्रतिभा । मिरर–राइटिङ । विश्वको एक प्रतिशत भन्दा कम जनसंख्या मात्र यसरी लेख्न सक्छ’ लेखेकी छन् ।

तर एक उचाई कोणबाट खिचिएको यो भिडियोमा सुशान्तको अनुहार प्रष्टसँग देखिएको छैन । सुशान्तकै दिदीले भिडियो खिचेको हुनाले भिडियोमा नदेखिएको अनुहार सुशान्तकै रहेको अनुमान लगाइएको छ । यो भिडियोलाई हेरेका उनका फ्यान चकित छन् । एक प्रशंसकले ‘निकै प्रतिभावान थिए । सायद उनी फर्किन सके’ भन्दै लेखेका छन् ।

अर्का प्रयोगकर्ताले ‘उनी जस्ता अन्य व्यक्तिको पनि आवश्यकता छ । यस्तो दुलर्भ क्षमता सायदै त कमैमा मात्र हुन्छ’ भनी लेखेका छन् । सुशान्त गत जून १४ मा बान्द्रास्थित फ्ल्याटमा मृत भेटिएका थिए । उनको रहस्यमयी मृत्युको सीबीआईले जाँच गरिरहेको छ ।