मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनको मृत्युका सम्बन्धमा सीबीआईले अनुसन्धान गरिरहेको छ । यो अनुसन्धानमा दिनानुदिन नयाँ नयाँ कुराहरु बाहिर आइरहेका छन् । अभिनयमा प्रतिभावान सुशान्तले फिल्म ‘एमएस धोनी’मा एमएस धोनी बनेर होस् वा ‘केदारनाथ’मा ‘मंसूर’को भूमिका निर्वाह गरेर फ्यानको रोजाईमा परे ।
सुशान्तले आफ्नो करियरमा धेरै फिल्ममा अभिनय गरे, तर उनलाई चिनाइरहने भूमिकामध्येमा राजकुमार हिरानीको फिल्म ‘पीके’ को ‘सरफराजÞ’को भूमिका प्रमुखमा पर्दछ । फिल्ममा आमिर खान र अनुष्का शर्माले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सुशान्तले फिल्ममा छोटो तर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले फिल्ममा १५ मिनेटका लागि सरफराजको भूमिका निर्वाह गरेका थिए । जुन भूमिका दर्शकका लागि सदा सम्झनालायक रह्यो ।
फिल्ममा सरफराजको भूमिकाका लागि शाहिद कपूर, इमरान हाशमी र रणबीर कपूरले चासो देखाएका थिए । तर निर्देशक हिरानीको नजरमा सुशान्त नै परे । राजकुमारले सुशान्तलाई फिल्मका लागि छनोट गर्दा सुशान्त निकै खुशी भएका थिए । सुशान्तले यो फिल्ममा अभिनय गरेवापत कुनै पारिश्रमिक लिएका थिएनन् ।
तर पनि निर्देशक हिरानीले सुशान्तलाई २१ रुपैंयाँ दिएका थिए । जब यो फिल्मले बक्स अफिसमा ब्लकब्लष्टर व्यापार गर्यो, हिरानीले खुशी भएर सुशान्तलाई आफ्नो पुस्तकालयमा रहेका धेरै पुस्तक उपहारका रुपमा पठाएका थिए ।