रोहितले सम्झिए आफ्नो प्रिय

धरान । धराने गायक रोहित मास्के करिब अढाई दशकपछि आफ्नो नयाँ गीत ‘प्रिय तिमीलाई’ लिएर दर्शकमाझ आएका छन् । २०४९ सालताका एल्बम ‘निश्चल’ ल्याएका गायक रोहितको ‘टेक्सी टेक्सी’, ‘मेरी मायालु’ रुचाइएका गीतमा पर्दछन् । एल्बममा सुक्मित गुरुङ, सपनाश्री परियार र भगवती तुम्बाहाम्फेको युगल गीत पनि सुन्न सकिन्छ ।

सन्जिब लामाको शब्द, संगीत र निर्देशन रहेको गीतको भिडियोलाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । प्रशान्त तामाङको छायांकन तथा सम्पादन रहेको भिडियोमा भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ ।

एल्बम निकालेको केही समयपछि नै उनले हङकङलाई आफ्नो कर्मथलो बनाएका थिए । फुर्सदको केही समय संगीतमा रमाउने रोहितले ‘चुकेको चुरा’ नामक फिल्ममा संगीत तथा स्वर दिएका छन् । केही वर्ष अघिमात्र धरान आएका उनले कोरोना महामारीले ल्याएको लकडाउनको सदुपयोग गर्दै धरानका अन्य संगीतकर्मीहरु संजिव लामा, हेम सुब्बा र मनोज मोतेको सहयोगमा ‘हामी बाचौं’ बोलको सन्देशमूलक गीत निकालेका थिए । धरान संगीत प्रतिष्ठानका कोषाध्यक्ष समेत रहेका उनले केही नयाँ गीतहरु तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका छन् ।