दैनिक गहुँत पिउछन् अक्षय

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमारले आफू दैनिक रुपमा गोमूत्र सेवन गर्ने गरेको बताएका छन् । उनले आयुर्वेदिक कारणले गोमूत्र सेवन गर्ने गरेको खुलाएका छन् । अक्षय हाल हुमा कुरैशी र लारा दत्ता भूपतीका साथ स्कटल्याण्डमा आगामी फिल्म ‘बेल बटम’को सुटिङ गरिरहेका छन् ।

इन्स्टाग्राममा भएको एक लाइभ सेसनमा ‘इन टू द वाइल्ड’को आफ्नो विशेष शोलाई लिएर उत्साहित अक्षयले एडभेन्चरर र टेलिभिजन होस्ट बेयर ग्रिल्सका साथ बिताएको क्षण र उनीसँगको जंगल यात्राको स्मरण गरेका थिए । हुमाले उक्त शोमा हात्तीको गोबरबाट बनाइएको चिया पिउनुभन्दा अघि आफूलाई कसरी मजबुत बनाइयो भनेर अक्षयलाई सोधेकी थिइन् ।

‘म चिन्तित थिइनँ । म निकै रोमाञ्चित थिएँ । म आयुर्वेदिक कारण जहिल्यै गोमूत्रको सेवन गर्दछु । त्यसकारण मलाई यस्तो काम गर्नु कुनै समस्या छैन’, अक्षयले भनेका छन् । अक्षय ग्रिल्सका कर्नाटकको बान्दीपुर टाइगर रिजर्भमा एक साहसिक यात्रामा गएका थिए । जहाँ ‘इनटू द वाइल्ड विद बीयर ग्रिल्स’ को एक भाग सुटिङ गरिएको थियो । यो शो सेप्टेम्बर ११ मा प्रसारण हुनेछ ।