यौन हिंसा गर्दा नपुंसक सजाय

लागोस(एजेन्सी) । नाइजेरियाको कदूना राज्यमा महिलामाथि यौन हिंसा गर्ने पुरुषलाई सर्जरी गरेर नपुंसक बनाउने कानून जारी गरिएको छ । त्यहाँका गभर्नरले हस्ताक्षर गरेको कानूनमा १४ वर्ष भन्दा कम उमेरको युवतीलाई यौन हिंसा गर्नेलाई मृत्युदण्डको साजय दिइने उल्लेख छ । गभर्नर नासिर अहमद अल रुफाईले दोषीमाथि कठोर कार्वाहीले बालबालिकाहरुलाई जघन्य अपराधबाट बचाउन सकिने बताए ।

कोरोना भाइरस महामारीका बेला नाइजेरियामा यौन हिंसाको घटनामा बढोत्तरी भएको छ । महिला संगठनहरुले यौन हिंस्रकका विरुद्ध मृत्युदण्डको कठोर सजाय दिन माग गरिरहेका छन् । अफ्रिकाको सबैभन्दा घना आबादी भएको देश नाइजेरियामा यौन हिंसाको अपराध रोक्न कदूना राज्यले यस्तो कडा कानून बनाएको हो ।

कानूनको दफामा १४ वर्षभन्दा बढी उमेरका युवती, महिलाहरुमाथि यौन हिंसा गर्ने पुरुषलाई आजीवन जेल सजाय दिइनेछ । यसअघिको कानूनमा वयस्कसँग यौन हिंसा गर्दा २१ वर्षको जेल सजाय र बालिकामाथि यौन हिंसा गर्दा आजीवन जेल सजायको व्यवस्था थियो ।