जागिर पाउन वृद्धको ५० पटक पुसअप

एडिनवर्ग(एजेन्सी) । भनिन्छ, उमेर केवल एउटा नम्बर मात्र हो । जब तपाईंभित्र केही गर्ने जोश हुन्छ, तब तपाईं कुनै उमेरमा जे पनि गर्न सक्नुहुन्छ । स्कटल्याण्डमा जन्मिएका ६० वर्षका पल माक्र्सले एउटा यस्तै काम गरे । जुन काम देखेर सबै चकित परेका छन् ।

कोरोना भाइरस महामारीका कारण लागु गरिएको लकडाउनले माक्र्सको जागिर गएको थियो । बढ्दो उमेरका कारण उनले कहिँ पनि काम पाउन सकेका थिएनन् । तर उनले हार मानेनन् र ६० वर्षको उमेरमा कति फिट छन् भनेर साबित गर्नका लागि सामाजिक सन्जालमा पुसअपको भिडियो राखे । त्यसपछि उनलाई जागिर दिनेको लाइन नै लाग्यो ।

लंकाशायरमा बस्ने पल पाँच महिनासम्म दुबईको क्रियोल समूहमा मुख्य सञ्चालन प्रबन्धकका रुपमा काम गर्थे । तर लकडाउनपछि उनलाई कम्पनीले जागिरबाट निकालिदियो । त्यसपछि उनी भारत, यूएई, ब्रिटेन र स्पेन जस्ता देशमा जागिरका लागि निवेदन दिए । तर उमेरका कारण उनले कतै काम पाएनन् ।

पललाई आफू ६० वर्षको भए पनि कति फिट छु भनेर देखाउनु थियो । त्यहीकारण उनले लिन्केदिनमा एक भिडियो पोस्ट गरे । जुन भिडियोमा उनी सुटबुट लगाएर पुसअप गरिरहेका छन् । यो भिडियो भाइरल हुनासाथ धेरै जागिरको अफर आयो । पलका अनुसार उनी दैनिक ५० पटक पुसअप गर्छन् र हप्तामा ३० किलोमिटर दौडन्छन् ।