‘६ महिना बेरोजगार भएँ’

मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार सलमान खानलाई कोरोना महामारीका कारण गरिएको लकडाउन निकै पीडादायक रह्यो । आफ्नो तीस वर्षे करियरमा यति लामो समयसम्म ब्रेक नलिएको सलमानको बुझाई छ । टेलिभिजन शो ‘बिग बोस १४’लाई लिएर आयोजित अनलाइन प्रेस कन्फरेन्समा सलमानले यो कुरा बताएका हुन् । सलमान अक्टोबर ३ बाट बिग बोसको आगामी सिजन होस्ट गर्दैछन् ।

‘पछिल्लो ६ महिना काम नगर्नु मेरा लागि अधिक तनावपूर्ण रह्यो । मैले पछिल्लो ३० वर्षमा यति लामो बिदा मनाइनँ । तर मलाई बाध्यतापूर्वक यो बिदा लिनुपर्यो’, उनले भनेका छन् । सलमानले कोरोना महामारी भन्दा अघि वर्षको अन्त्यमा बिदा मनाउने निर्णय लिए पनि अब भने बिग बोसको कार्यक्रमप्रति आफूले गरेको प्रतिबद्धताका कारण आफ्नो बिदा कटौती गरेको बताए ।

लकडाउन घोषणा हुनासाथ सलमान आफ्नो परिवारका साथ पनवेलस्थित फार्म हाउस गएका थिए । आफूले बान्द्राको अपार्टमेन्टमा बस्ने मातापिताको स्वास्थ्यलाई ख्याल गर्दै यो निर्णय लिएको बताए । उनले राष्ट्रव्यापी लकडाउनका समयमा आफ्नो फार्म हाउसमा बिताएको समय र तरकारी उत्पादन गरेको समय उत्कृष्ट भएको दाबी गरे ।

सलमानले बिग बोसको नयाँ सिजनका लागि आफूले कम पारिश्रमिक लिएको खुलाए । उनले पारिश्रमिकको कारणले कोभिड–१९को संकटका समयमा च्यानललाई कुनै दबाब नपरोस् भनेर कम पारिश्रमिक लिने निर्णय लिएको बताए । सलमान यसपटकको सिजनमा आतिथ्यका लागि कम पैसा लिइरहेका छन्, ताकि हरेक सदस्यले उचित पारिश्रमिक पाउन भन्ने सलमानको चाहना छ । बिग बोस कलर्स च्यानलबाट प्रिमियरको तयारी हुँदैछ ।