मुम्बई(एजेन्सी) । बलिउडको लागुऔषध मामलामा दीपिका पादुकोणको नाम जोडिएपछि उनको चर्चा दिनानुदिन बढ्दो छ । यो विवादले उनको करियरमा पनि नकारात्मक असर पर्ने देखिएको छ । उनीमाथि बलिउडको करिब ६ सय करोड रुपैंयाँ लगानी भएको छ । जसमा दुई फिल्म र ३३ ब्राण्ड इन्डोर्समेन्ट छन् ।
दीपिका निर्माता मधु मन्तेनाको बेनाम फिल्ममा अनुबन्धित भइसकेकी छन् । यो फिल्मको बजेट २ सय करोड रुपैंयाँ छ । त्यस्तै शकुन बत्राको बेनाम फिल्ममा पनि उनले हस्ताक्षर गरिसकेकी छन् । फिल्मको बजेट झन्डै ९० करोडको हाराहारीमा छ । यसबाहेक ३३ ब्राण्ड इन्डोर्समेन्टको सम्झौता करिब ३ सय करोडको छ ।
मधुको फिल्मको कथा पौराणिक महाभारतको पात्र द्रौपदीबाट प्रेरित छ । यद्यपि हालसम्म यसबारे धेरै कुरा बाहिर आइसकेको छैन । दीपिकासँगै निर्माता मधु आफैं लागुऔषध विवादमा फसिसकेका छन् ।
व्यापार विश्लेषक र ४० वर्षदेखि फिल्म वितरणमा सक्रिय वितरक राज वंसल दीपिकाको करियरमा असर पर्ने बताउछन् । ‘कारण यो हो कि हालका दिनमा मानिसहरु किसान बिलको र सुशान्त सिंह राजपुतको हत्या कसले गरेको भन्ने विषयमा बहस गरिरहेका छैनन् । हरेक समयमा उनीहरु लागुऔषधसँग जोडिएका सम्भावित नाम सम्झिइरहेका छन् । किनकी उनी सेलिब्रेटी हुन् । त्यहीकारण सबै हात धोएर लागेका छन् । यसको असर फिल्मको कलेक्सनमा पर्नेछ’, उनले भनेका छन् ।
व्यापार विश्लेषक अतुल मोहनले सञ्जय दत्त पनि लागुऔषध र आतंकवादी गतिविधिमा लिप्त रहेको स्मरण गरेका छन् । ‘तर पनि दर्शकले उनलाई स्वीकारे । फिल्मबाट दीपिकालाई घाटा त नहोला, तर इन्डोर्समेन्टको स्टरमा भने निकै नोक्सान हुने देखिन्छ’, उनले भनेका छन् ।