दिदी तेरा देवर दिवाना गायकको निधन

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय र हिन्दी फिल्मका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा चेन्नईको एक अस्पतालमा निधन भएको छ । हिन्दी फिल्म हेर्ने पछिल्लो पुस्ताले एसपीलाई नचिनेपनि अभिनेता सलमान खानले अभिनय गरेका प्रायः फिल्मका गीतमा उनको स्वर सुन्न सकिन्थ्यो । सलमानले फिल्म क्षेत्रमा भर्खर पाइला चाल्दै गर्दा उनले अभिनय गरेका ती फिल्ममा एसपीकै स्वर हुन्थ्यो । धेरैले एसपीको स्वरलाई सलमानको स्वर ठान्दथे ।

उनले ‘मैने प्यार किया’को गीत होस् या ‘साजन’, ‘हम आप के है कौन’ जस्ता फिल्मका गीतमा एसपीको स्वर थियो । शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘चेन्नइ एक्सप्रेस’को शीर्ष गीतमा पनि उनकै स्वर थियो ।

९० दशकको देखि लिएर नयाँ शताब्दीका गीतसम्म एसपीको स्वर थियो । उनले सन् १९८१ मा रिलिज फिल्म ‘एक दुजे के लिए’का लागि पहिलो हिन्दी फिल्मको गीत गाएका थिए । यसपछि उनले ‘सच मेरे यार हे’, ‘ओ मारिया’, ‘दिल दिवाना’, ‘कबूतर जा जा’, ‘देखा हे पेहली बार’, ‘तुमसे मिल्ने कि तमन्ना है’ जस्ता गीतमा स्वर दिए । ‘आजा शाम होने आई’ होस् या ‘मेरे रंग में रंगने वाली’, ‘दिदी तेरा देवर दिवाना’, ‘पहला पहला प्यार है’लगायतका गीतमा पनि उनको स्वर सुन्न सकिन्थ्यो । एसपी मोहम्मद रफीका ठूला फ्यान थिए । ‘म साइकलमा कलेज जान्थें । रफीको गीत हुन्थ्यो दिवाना हुआ मौसम । कैयौं पटक यो गीत सुन्न म बाटोमा रोकिन्थें’, उनले एक अन्तरवार्तामा भनेका थिए ।

हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा गीत गाउन पोख्त उनले ६ वटा नेशनल अवार्ड जितेका छन् । कमल हासन, रजनीकान्त, एमजीआरदेखि लिएर सलमान र शाहरुखजस्ता स्टारका लागि उनले गीत गाएका थिए । शुरुवाती दिनमा उनी एक सांगीतिक समूहको हिस्सा थिए । जसमा इलयाराजा पनि थिए । जो विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिन्थे । त्यो बेलासम्म एसपी र इलयाराजालाई कसैले चिन्दैन थिए ।