गायनमा उदित र लताको यस्तो बण्डिङ

मुम्बई(एजेन्सी) । भारतकी स्वर कोकिला अर्थात लता मंगेकशर सोमबारबाट ९१ वर्षको भइन् । सन् १९२९ सेप्टेम्बर २८ मा इन्दोरमा पण्डित दीनानाथ मंगेशकरको घरमा उनको जन्म भएको थियो । उनी पाँच भाईबहिनीमा जेठी हुन् । लताको जन्मदिनमा गायक उदित नारायण झाले उनलाई बधाई दिँदै लतासँग गाउन पाउनु आफ्ना लागि नै जीवनको ठूलो अवार्ड भन्दै आफ्नो अनुभव यसरी साटेका छन्ः–

सबैभन्दा पहिला त साक्षात सरस्वती, भारत रत्न, कोकिला कण्ठको जन्मदिनमा धेरै धेरै बधाई दिन चाहन्छु । पाँच–छ वर्षको उमेरमा सरपंच मुखियाको ट्रान्जिस्टरमा टाढा बसेर सुन्दा यहाँ भित्र बसेर मानिसहरु कसरी गीत गाउछन् भन्ने सोच्दथें । निकै संघर्षपछि म मुम्बई आएँ । मैले लता मंगेशकरसँग आफ्नो पुस्तामा करिब अढाई सय फिल्ममा गीत गाएँ । यो मेरा लागि ठूलो उपलब्धि हो । मलाई भारत सरकारले सन् २००९ मा ‘पद्मश्री’ र २०१६ मा ‘पद्म भूषण’ दियो । तर लताजीसँग मैले यति धेरै काम गर्ने मौका पाएँ, त्यो मेरा लागि ठूलो अवार्ड हो । मलाई लाग्छ कि मैले ‘भारत रत्न’ नै पाएँ । लताजीसँग कैयौं पटक स्टेज शेयर गर्ने मौका पाएको छु ।

कुरा सन् १९९२ डिसेम्बर १ को हो । लताजीले दर्शकहरुलाई शोमा मलाई उदित नारायण चाहिन्छ भन्नुभएछ । मैले जब खबर पाएँ, खुशीले रातभर सुत्न सकिनँ ।सौभाग्यले मेरो जन्मदिन डिसेम्बर १ मा नै पर्दछ । कार्यक्रम सञ्चालक हरिश भिमाणीसँग उहाँले स्टेजमा धन्यवाद दिएपछि मलाई ‘प्रिन्स अफ प्लेब्याक सिङगिङ’को उपाधि दिन लगाउनुभयो र उहाँले सूनको सिक्री पनि दिनुभयो । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को गीत ‘मेहन्दी लगा के रखना’ गाइरहँदा मेरो अगाडि आएर लता दिदी बस्नुभयो । उहाँलाई अगाडि देख्दा म नर्भस भइरहेको थिएँ । मैले ‘दिदी तपाईं अगाडि बसिरहँदा मैले कसरी गाउन सक्छु’ भन्दा उहाँले ‘म तिमीलाई नै सुन्न आएकी हुँ’ भन्नुभयो ।

म नर्भस हुन लागेको थाहा पाएपछि उहाँले मलाई जोक सुनाउनुभयो । त्यसपछि यश चोपडाजी पनि आउनुभयो । उहाँले खानेकुरा मगाउनुभयो । हामीहरुले सँगै खाना खायौं । खाना खाइसकेपछि उहाँ रेकर्डिङ कोठामा जानुभयो र गीत सुन्ने कुरा गर्नुभयो । मैले फेरि ‘मेहेन्दी लगाके रखना’ गीत सुनाएँ । त्यो समयमा लताजीले कैयौं पटक फिल्म निर्मातासँग गायनमा सहकार्य गर्न मेरो नाम लिनुहुन्थ्यो । ‘भोली सी सूरत आँखो मे मस्ती दूर खडी शर्माए’ गीत माधुरी दिक्षित र शाहरुख खानमाथि गाइएको थियो । यो मेरो सोलो गीत थियो । गीतमा लताजीले आलाप मात्र दिइरहनुभयो । फिल्मको सिचुएसन नै त्यस्तो थियो कि शाहरुख गीत गाइरहने र माधुरी बीच बीचमा आलाप गर्नुपर्ने ।

फिल्म ‘वीर–जरा’को गीत ‘जानम देख लो मिट गई दूरियां’मा स्वर्गीय मदन मोहनको संगीत थियो । जसलाई मैले गाएको थिएँ । लताजीले यो गीत सुनेपछि फोन गरेर मलाई ‘तपाईंलाई धेरै बधाई छ । तपाईंले मदन भाइको गीत राम्रो गाउनुभयो’ भन्नुभयो । उहाँको तारिफ सुनेर म सोचमग्न भएँ । मैले उहाँलाई ‘तपाईं मेरो घर नजिकै हुनुहुन्छ । घरमै आएर तपाईंको आशिर्वाद पाए त म आफूलाई भाग्यमानी ठान्थें’ भनें । शुरुमा त उहाँले अस्वीकार गर्नुभयो, तर २ घण्टा पछि उहाँको गाडी मेरो घर अगाडि आएर रोकियो । उहाँ घरमा आएपछि हामी सबै मिलेर चिया खायौं । त्यो समय मेरो आमा बुवा घरमा हुनुहुन्थ्यो । त्यो बेला दिदीले उहाँहरुसँग चार घण्टासम्म गफ गर्नुभयो ।
(दैनिक भास्करका उमेशकुमार उपाध्यायसँग उदितले गरेको कुराकानीमा आधारित)