नारायण र रचनाको नमुछे आमा दहीमा टिका

काठमाडौं । एकसमय रेडियो नेपालमा निकै रुचाइएको गीत ‘नमुछे आमा दहीमा टिका’को नयाँ भर्सन श्रोतामाझ आएको छ । गीतमा गायक तथा संगीतकार नारायण रायमाझीको संगीत तथा लक्ष्मण रायमाझीको शब्द छ । नयाँ भर्सनमा भने नारायणलाई गायिका रचना रिमालले साथ दिएकी छन् ।

२०५५ सालमा पहिलोपटक रेकर्ड गरिएको यो गीतमा उसबेला नारायणको एकल स्वर थियो । त्यसको तीन वर्षपछि रेकर्ड भएको गीतमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वर थियो । गीतको पुरानो भर्सनमा कुन्दन राईको संगीत संयोजन थियो भने नयाँमा श्यामस्वेत रसाइलीको संगीत संयोजन छ ।

रिमा इन्टरटेनमेन्ट नेपालले बजारमा ल्याएको गीतको भिडियोमा मिराज अर्यालको छायांकन र सम्पादन छ । भिडियोमा नारायण र रचनासँगै विन्दु खड्का, विवेक खड्का, मनोज खड्का र पूजा महर्जन फिचर्ड छन् ।

नारायणकै संगीतमा रहेको ‘उनको प्रीति’ले युट्युबमा झन्डै चालिस लाखको हाराहारीमा दर्शक पाइसकेको छ । यो गीतमा प्रविण बेडवाल र रचनाको स्वर छ ।