क्याफे मालिक बने चियावाला अरशद

इस्लामाबाद(एजेन्सी) । आफ्नो निलो आँखा र मुस्कानका कारण सन् २०१६ मा सामाजिक सन्जालमा भाइरल भएका पाकिस्तानका हेण्डसम चियावाला पक्कै कसैले बिर्सिएका छैनन् होला । सामाजिक सन्जालका कारण विश्वभरी चिनिएका यी अरशद खान चार वर्षपछि पुनः चर्चामा छन् । किनकी उनले इस्लामाबादमा आफ्नो चियाको क्याफे खोलेका छन् ।

सन् २०१६ मा व्यावसायिक फोटोग्राफ जिया अलीले अरशदलाई इस्लामाबादको सडकमा चिया बेच्दै गरेको अवस्थामा भेटेकी थिइन् । जियाले निलो रंगको कुर्ता लगाएका अरशदको फोटो खिचेर सामाजिक सन्जालमा राखेपछि उनी भाइरल भएका थिए । यसपछि अरशदलाई विश्वभरमा नै ‘पाकिस्तानी चियावाला’का रुपमा परिचित भए ।

अरशदले इस्लामाबादमा आफ्नो चिया क्याफे हालैमात्र शुभारम्भ गरेका छन् । उनले क्याफेको नाम चायवाला रुफ टप राखेका छन् । ‘धेरैले मेरो क्याफेको अरशद खान राख्नका लाग सुझाव दिए । उनीहरुले जहिले जुन नाम राखेको छ, त्यसलाई फेर्न पनि भने । तर मैले अस्वीकार गरें । किनकी ‘चियावाला’ मेरो पहिचान हो’, उनले भनेका छन् ।

उनको क्याफे देशी लुक्समा बनाइएको छ । यसमा देशीय वस्तुको प्रयोग गरिएको छ । क्याफेलाई पात र चित्रले सजाइएको छ । ‘मैले क्याफेलाई डिजाइन गर्नका लागि ट्रक आर्टवर्कको प्रयोग गरेको छु । देसी टेबल र कुर्सी राखेको छु’, उनले भनेका छन् । उनको क्याफेमा चियाका अलावा १५ देखि २० खानेकुराका आइटम पनि छन् । अधिकांश समय क्याफेमा नै बिताउने गरेका अरशदले मनोरन्जन क्षेत्रको आफ्नो योजना पनि पुरा गर्ने सोचाई बनाएका छन् ।