वार्षिक दुई करोड आम्दानी गर्दै सांस्कृतिक संस्थान

काठमाडौं । नेपाल सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेजसँगको ३० वर्षे सम्झौता तोड्दै नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । ट्रेडिङसँगको सम्झौताअनुसार आ.व. २०७७÷०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक लगभग २० रुपैयाँमात्र थियो । सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको हो । सो क्षेत्रका व्यावसायिकक मलमा प्रतिवर्ग फिट प्रतिमहिना ८० देखी एक सय रुपैयाँसम्म चल्ती रहेको छ ।

संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले ट्रेडिङसँग भएको एकपक्षीय सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरेको बताए । गत पुसदेखि कार्यभार सम्हालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौतालाई पुनरावलोकन गरिने उल्लेख गरेका थिए ।

‘यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्रसमेत प्रयोग गर्न पाएको थिएन । अब त्यो समस्या समाधान भएको छ । पार्किङ सुविधाका कारण अब हल अक्युपेन्सी पनि बढ्ने अपेक्षा गरका छौं’, महाप्रबन्धक राईले भने । सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए । ‘संस्थानको समृद्धिका लागि सी. एम. ट्रेड्रिसँगको सम्झौता भंग हुनु जरुरी थियो’, अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही समस्या छन् । हामी एक एक गर्दै समाधानका लागि अघि बढेका छौं ।’

ट्रेड्रिङसँगको सम्झौताअनुसार आ.ब. २०७७÷७८ मा संस्थानले लगभग एक करोड ३० लाख रुपैयाँ प्राप्त गथ्र्यो भने दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ ।