डिभोर्सपछिको दुई वर्ष बेरोजगार थिए आमिर

मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार आमिर खान जहिल्यै पनि आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । तर उनले आफ्नो व्यक्तिगत जीवनका कारण पनि राम्रै चर्चा पाएका छन् । आमिर आफ्नो व्यक्तिगत जीवनका बारेमा खासै कुरा गर्दैनन् । तर एकपटक भने उनले आफ्नो पहिलो पत्नी रीना दत्ताको बारेमा कुराकानी गर्न भने आफूलाई रोक्न सकेनन् ।

समाचार अनुसार एक अन्तरवार्ताको समयमा आमिरले रीनासँग सम्बन्धविच्छेदको बारेमा खुलेर कुराकानी गरेका थिए । आमिर बलिउडका प्रख्यात निर्माता तथा निर्देशक करण जोहारको शो ‘कफी विथ करण’मा पुगेका थिए । जहाँ उनले आफ्नो र वर्तमान श्रीमति किरण रावको मात्र होइन, अघिल्लो श्रीमतिसँगको सम्बन्धविच्छेदका बारेमा पनि खुलेर कुरा गरे । ‘म र रीना १६ वर्षसम्म वैवाहिक सम्बन्धमा रह्यौं । हामी अलग्गिने निर्णयले हामी दुईको परिवार निकै दुःखी थियो । म झन्डै तीन चार वर्ष एक्लै रहें । त्यो समय मैले झन्डै दुई वर्ष बेरोजगार भएर बिताएँ । किनकी म त्यो कुराबाट बाहिर आउने कोशिस गरिरहेको थिएँ । अलग भएपछि पनि म र रीनाले एकअर्कालाई सम्मान गरिरह्यौं । आज हामी साथी छौं’, उनले भनेका छन् ।

रीना र आमिरका दुई सन्तान छन्, जसको नाम इरा खान र जुनैद खान हो । रीनासँग अलग भएपछि आमिरले सन् २००५ मा किरण रावसँग विवाह गरे । आमिर र किरणको एक छोरा आजाद राव खान छ । किरण बलिउडकी नाम चलेकी निर्माता र निर्देशकसँगै लेखक पनि हुन् ।