श्वेतासँग लगनगाठो कस्दै आदित्य

मुम्बई(एजेन्सी) । कोरोना कालको यो समयमा बलिउडमा विवाहको सिजन शुरु भइसकेको छ । गायिका तथा शोकी निर्णायक नेहा कक्कडले आफ्नो सम्बन्धलाई आधिकारिक रुपमा सार्वजनिक गरेपछि गायक आदित्य नारायण झाले पनि आफ्नो सम्बन्ध खुलाएका छन् । उनले आफू अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेको जानकारी दिएका हुन् । उनीहरु एकापसमा लामो समयदेखि डेट गरिरहेका छन् ।

समाचार अनुसार हालैको एक अन्तरवार्तामा आदित्यले यो कुराको घोषणा गरेका हुन् । ‘मैले आफ्नो सम्बन्धलाई लिए कुनै कुरा पनि गोप्य राखेको छैन । तर एक विन्दुमा यसबारेमा धेरै कुरा भनिएको छ । मैले निर्णय लिएँ कि यो विषयमा म केही बोल्न चाहन्नँ । मलाई एक्लै छोडिदिनु’, उनले भनेका छन् ।

आदित्यका अनुसार सन् २०१० मा उनले श्वेता अग्रवाललाई फिल्मको सेटमा भेटेका थिए । दश वर्षपछि उनीहरु विवाहको औपचारिकमा प्रवेश गर्दैछन् । उनका अनुसार विवाह नोभेम्बर या डिसेम्बरमा हुनसक्छ । आदित्यको परिवारले श्वेतालाई निकै मनपराउछन् । केही समय अघि नेहा कक्कड र आदित्य नारायणले एक रियालिटी शोमा एकसाथ स्क्रिन शेयर गरेका थिए । दुवै अलग अलग भूमिकामा देखिएका थिए । यो शोमा उनीहरुको विषयमा धेरै चर्चा गरिए पनि अन्ततः नेहाले रोहनप्रीतसँग विवाह गर्न लागेको खुलाइन् ।

अभिनेत्री श्वेताले सन् २०१० मा फिल्म ‘सापित’बाट आफ्नो करियर शुरु गरेकी थिइन् । यो फिल्मको समयमा नै उनको आदित्यसँग भेट भएको थियो । श्वेताले दक्षिण भारतीय ठूला स्टारहरुसँग काम गरिसकेकी छन् । जसमा प्रभास पनि सामेल छन् ।