जसले बलिउडमा नयाँ नाम पाए

मुम्बई(एजेन्सी) । बलिउडका यस्ता कैयौं अभिनेताहरु छन्, जसको नाम फिल्ममा आउनु अघि अर्कै थियो । अभिनेता अक्षय कुमारको वास्तविक नाम राजीव हरिओम भाटिया हो भने टाइगर श्राफको नाम जय हेमन्त, रजनीकान्तको नाम शिवाजी राव गायकवाड हो । केवल अभिनेता मात्र होइन, कैयौं अभिनेत्रीको नाम पनि फिल्ममा आउनु अघि फरक थियो ।

अभिनेत्री कियारा आडवाणीले छोटो समयमा नै फिल्ममा आफ्नो पहिचान बनाइन् । कियाराले अभिनेता सलमान खानको सल्लाहमा आफ्नो नाम फेरेकी थिइन् । उनको वास्तविक नाम आलिया आडवाणी हो । जब कियारा बलिउडमा डेब्यू गर्ने तयारी गरिरहेकी थिइन्, त्यो बेला आलिया भट्टले आफ्नो पहिचान बनाइसकेकी थिइन् । एकै नाम हुने भएपछि उनले आफ्नो नाम बदलेकी हुन् ।

अभिनेत्री कटरीना कैफको वास्तविक नाम कटरीना टरकोटे हो । उनको आमाको थर टरकोटे हो । उनको पिताको नाम मोहम्मद कैफ हो । कटरीना सानै हुँदा उनको आमाबाबु अलग्गिएका थिए । सदाबहार नायिका रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । फिल्ममा आएपछि उनले आफ्नो नाम रेखा मात्र राखिन् । जुन नामले उनी सफलताको शिखर पनि चुमिन् । अभिनेत्री शिल्पा शेट्टीको वास्तविक नाम अश्विनी शेट्टी हो । तर उनकी आमाले एक ज्योतिषको भनाई अनुसार नाम बदलेर शिल्पा शेट्टी बनाइदिइन् ।

मधुबालाको पिताको नाम अताउल्लाह र माताको नाम आयशा बेगम थियो । उनी जन्मिएको समयमा पिताले उनको नाम मुमताज जेहान देहलवी राखिदिए । सन् १९४२ मा मुमताजको पहिलो फिल्म ‘वसन्त’ आयो । उनको अभिनय देखेर त्यो समयकी चर्चित अभिनेत्री देविका रानीले उनको नाम परिवर्तन गर्न सल्लाह दिँदै उनलै मधुबाला नाम राखिदिइन् ।

अभिनेत्री सनी लियोनीको वास्तविक नाम करणजीत कौर वोहरा हो । जब उनी एडल्ट उद्योगमा गइन्, त्यहाँ उनले नाम फेर्नुपर्यो । लियोनीका अनुसार जसरी पुरुषको नाम पछाडि सिंह जोडिन्छ, त्यसरी नै उनले आफ्नो नाम लायनबाट लियोनी बनाएकी हुन् । कैयौं वर्षसम्म बलिउडमा राज गरेकी श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अयप्पन हो । फिल्ममा आएपछि उनकी आमाले नाम फेरेर श्रीदेवी राखिन् ।