अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा संगीताको आइसक्रिम

काठमाडौ । यौन उत्पीडनलाई विषय बनाएर निर्माण गरिएको फिल्म ‘कथा काठमाण्डु’ कि निर्देशक संगीता श्रेष्ठले सर्ट फिल्म ‘आइसक्रिम’ बनाएकी छन् । यो फिल्म ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा छनौटमा परेको छ । यो फिल्म फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो फिल्म बाल यौन शोषणमाथि आधारित छ ।

यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । निर्देशक श्रेष्ठले कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो फिल्म प्रदर्शन हुने बताईन् । ‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट हुँदा एकदम खुशी छु,’ उनले भनिन्, ’मैले उठान गरेको विषय संसारभर पुग्दैछ । निकै उत्साहित पनि छु ।’

फिल्मले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथालाई देखाएको छ । ‘यो फेस्टिभलले समाजको अँध्यारो पाटो उजागर गर्ने फिल्महरु खोजेको थियो । आइसक्रिमले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्यले फिल्म बनेको छ’, उनले भनिन् ।

यो फिल्म अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा छनोट भइसकेको छ । यद्यपी पहिलो प्रदर्शन भने ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा हुने भएको हो ।
नौ मिनेट लामो फिल्ममा योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । सञ्चारकर्मीसमेत रहेकी श्रेष्ठसँग सयौं म्यूजिक भिडियोहरु, वृत्तचित्रहरु तथा लघु फिल्म निर्देशनको अनुभव छ ।