पत्रकारको भूमिकामा देखिँदै शाहरुख

मुम्बई(एजेन्सी) । सन् २०१८ पछि बलिउडका किंग खान शाहरुख खान ठूलो पर्दाबाट टाढा छन् । फ्यानहरु उनलाई पुनः अभिनयमा देख्न व्यग्र प्रतिक्षामा छन्, तर अभिनेता हरेक कुरालाई सोचेर फिल्म साइन गरिरहेका छन् । हालैमात्र शाहरुखले तीन ठूला फिल्म साइन गरेको बताएका थिए । एक फिल्म त उनले निर्देशक राजकुमार हिरानीसँग गर्न गइरहेका छन् । अब यी अभिनेता चाँडै अर्का अभिनेता माधवनको एक फिल्ममा महत्वपूर्ण भूमिकामा देखिँदैछन् ।

आर माधवन यो समयमा फिल्म ‘रोकेट्री–द नम्बी इफेक्ट’मा काम गरिरहेका छन् । यो फिल्म पूर्व वैज्ञानिक नम्बी नारायणनको जिन्दगमिा आधारित छ । जसलाई जासूसीको आरोपमा फसाइएको थियो । माधवन लामो समयदेखि नम्बी नारायणको जिन्दगीमा फिल्म बनाउन चाहन्थे । यो फिल्मको निर्देशनदेखि लेखनसम्मको काम माधवनले नै गर्नेछन् । यो फिल्ममा शाहरुख एक पत्रकारको भूमिकामा देखिँदैछन् ।

फिल्ममा नम्बी नारायणको भूमिका आर माधवनले नै निभाउनेछन् । फिल्ममा पत्रकार बनेका शाहरुखले नम्बीको हरेक गतिविधिलाई दर्शक समक्ष पुर्याउनेछन् । समाचार अनुसार शाहरुखले यसअघि कुनै पनि फिल्ममा यस्तो भूमिका निर्वाह गरेका थिएनन् ।