अभिनेता सनीलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता तथा गुरदासपुरका सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ । सनीलाई कोरोना भएको पुष्टि हिमाञ्चल प्रदेशका स्वास्थ्य सचिव अमिताभ अवस्थीले गरेका छन् । उनले सनी केही दिनदेखि कुल्लू जिल्लामा रहेको जानकारी दिएका छन् ।

अमिताभका अनुसार सनी आफ्ना साथीसँग मुम्बई जाने तयारीमा थिए । यहीबीच बीजेपी सांसद सनीलाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको हो । ‘मैले कोरोना टेस्ट गराएँ र रिपोर्ट पोजेटिभ आएको छ । म एकान्तबासमा छु र मेरो स्वास्थ्य ठिक छ । मेरो अनुरोध यो छ कि मेरो सम्पर्कमा रहनुभएकाले आफूलाई आइसोलेट गरेर आफ्नो जाँच गराउनुहोला’ उनले ट्वीट गरेका छन् ।

केही दिन अघि मात्र ६४ वर्षे सनीले मुम्बईमा काँधको सर्जरी गराएका थिए । सर्जरी पछि उनी कुल्लूको मनालीमा रहेको एक फार्महाउसमा स्वास्थ्य लाभ गरिरहेका थिए । त्यही समयमा उनलाई कोरोना संक्रमण देखिएको थियो ।