काठमाडौं । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीत ‘फुटेका चुरा’को भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको नं तीनमा आएको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे पाँच लाख नाघिसकेको छ ।
भिडियोमा गायक सपुतसँगै नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ । गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोमा प्रकाशकै निर्देशन छ । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा ५ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ४९ हजारले ‘लाइक’ गरेका छन् ।
कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ । दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् । आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् । मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन् । घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ ।
‘गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ’, गायक सपुतले भने, ‘राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक÷श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।’ गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गरेका हुन् ।