डिसेम्बर फल्समा क्याप्टेन गर्लको इन्ट्री

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’ को नायिकामा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । फिल्मको प्रमुख भूमिकामा आर्यन सिग्देल र सहअभिनेतामा सलोन बस्नेत यसअघि नै अनुबन्धित भइसकेका छन् ।

भुवन केसीको फिल्म ‘क्याप्टेन’बाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् । दुवै फिल्मबाट उपासनाले तारिफ पाइन । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाको निर्देशन रहनेछ ।

लक्ष्मण रिजाल कार्यकारी निर्माता र राजकुमार भट्ट निर्माता रहने फिल्ममा सुमन थापा, नागेन्द्र रिजाल, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सञ्चारकर्मी नरेश भट्टराईलगायतको अभिनय रहनेछ ।

भारतीय फिल्मका छायाकार रवि नायडुको छायांकन रहने फिल्ममा विपीका खनालको कथा तथा केदार भुसालको पटकथा र सम्बाद, दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ गतेदेखि सुरु गर्ने योजना निर्माण पक्षको छ । २०७८ साउन १ गते रिलिज हुने फिल्म काठमाडौं र पोखरामा खिचिनेछ ।