गर्भावस्थामा पनि अभिनेत्रीको नियमित योगा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री अनुष्का शर्माले केही महिना अघि आफू गर्भवती भएको घोषणा गर्दै आफू जनवरीमा आमा बन्ने बताएकी थिइन् । हालका दिन अभिनेत्री आफ्नो स्वस्थ गर्भावस्थालाई ध्यान दिँदै क्रिकेटर पति विराट कोहलीको सहयोगले योगा गरिरहेकी छन् । हालैमात्र गर्भावस्थाको समयमा शीर्षासन गरेको तस्बिर अनुष्काले सामाजिक सन्जालमा राखेपछि सबै चकित बनेका थिए ।

बेबी बम्पका साथ योगा गरिरहेको अभिनेत्रीको यो तस्बिर सामाजिक सन्जालमा खुबै भाइरल भयो । यो मामलामा अनुष्कामात्र होइन, यसअघि करीना कपूर खान, शिल्पा सेट्ठीलगायत कैयौं बलिउड अभिनेत्रीहरु पनि गर्भावस्थामा यसरी नै योगाशान गरेका छन् ।

अभिनेत्री करीना कपूर खान चार वर्षपछि पुनः आमा बन्दैछिन् । गर्भवती भएको घोषणा गर्नासाथ अभिनेत्रीले आफ्नो वर्कआउट सेशनको तस्बिर सामाजिक सन्जालमा राखिन् ।

‘एक दीवाना था’, ‘सिंह इज ब्लिङ’ जस्ता फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री एमी जेक्सन सन् २०१९ मै आमा बनिन् । अभिनेत्रीले आफ्नो गर्भावस्थाको दौरान बेबी बम्पसँगै योगा गरेको तस्बिर सामाजिक सन्जालमा राखिन् । उनले गर्भावस्थाको समयमा हृदय, दिमाग र शरीरलाई फिट राख्न योगाको जरुरी रहेको बताइन् ।

अभिनेत्री सोहा अली खानले गर्भावस्थाको नवौं महिनामा वर्कआउट गर्दै गरेको तस्बिर सार्वजनिक गरेर चर्चामा आइन् । केहीले उनको यो कामको तारिफ गरे भने केहश्ीले ट्रोल नै बनाए ।

अभिनेत्री लारा दत्ताले सन् २०१२ मा छोरी सायरालाई जन्म दिइन् । आफ्नो गर्भावस्थाको समयमा आफूलाई फिट राख्नका लागि उनले पनि योगाको सहारा लिइन् । उनले गर्भावस्थाको ८ महिनामा योगा गर्दै गरेको भिडियो सामाजिक सन्जालमा राखेपछि उनको कामको तारिफ भएको थियो ।

बलिउडकी फिट अभिनेत्री शिल्पा सेट्ठी कुन्द्र लगातार आफ्नो योगा शैलीले फ्यानलाई प्रभावित पार्दै आएकी छन् । उनले आफ्नो गर्भावस्थाको समयमा फिट हुनका लागि नियमित योगा गरिरहिन् । गर्भवती भएपछि बढेको वजनलाई पनि उनले आफ्नो योगाकै कारण घटाइन् ।

अभिनेत्री समीरा रेड्डी सन् २०१९ मा दोस्रोपटक आमा बनिन् । उनले आफूलाई फिट राख्नकै लागि नियमित रुपमा योगा गरिन् । योगाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा राखेर गर्भावस्थामा पनि योगा गर्न सकिन्छ भन्ने बारे चेतना फैलाइन् ।