एसपी र हरिहरलाई दधिराज पुरस्कार

काठमाडौं । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुबेदीको सम्मानमा उनका छोराहरु शरदराज र रुपकराजले स्थापना गरेको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले साहित्यकार एवं कवि एसपी कोइराला र पत्रकार हरिहर विरहीलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानको बैठकले ५१ हजार रुपैंयाँ राशीको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ साहित्यकार एवं कवि कोइरालालाई र २५ हजार राशीको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार विरहीलाई दिने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ बिवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । यी पुरस्कारका शरदराज र रुपकराजले प्रतिष्ठानको नाममा १५ लाखको अक्षयकोषको स्थापना गरेका छन् । हरेक वर्ष दुईजना विशिष्ट व्यक्तिलाई कोषको ब्याजबाट प्रतिष्ठानले पुरस्कृत गर्दै आएको छ ।

पुरस्कारबाट यसअघि साहित्यकारहरु प्राडा. गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल, पत्रकारहरु किशोर नेपाल, हरिबहादुर थापा, शिवबहादुर कार्की पुरस्कृत भइसकेका छन् ।

२०७६ सालको लागि घोषणा गरिएको पुरस्कार कोरोनाको कहरका कारण वितरण गर्न नसकिएकोले आगामी माघ महिनामा आयोजना गरिने समारोहमा नै वितरण गरिने छ । सो वर्ष साहित्य तर्फको पुरस्कार डा विष्णुबिभु घिमिरेलाई र पत्रकारिता पुरस्कार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय भइसकेको छ ।