अभिनयमा फर्कदै सुशान्तकी रिया

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि तमाम आलोचना झेलेकी उनकी प्रेमिका रिया चक्रवर्ती जेलबाट बाहिर आएपछि अहिले पूर्ण रुपमा गायब छिन् । उनी न त सामाजिक सन्जालमा सक्रिय छिन्, न त कतै बाहिर नै उनलाई देख्न सकिन्छ । उनी कहिँ कतै समाचारमा पनि छाएकी छैनन् । तर अब रियासँग जोडिएको एक खबर बाहिर आएको छ । उनी नयाँ वर्ष २०२१ मा कमब्याकको तयारीमा छिन् ।

सुशान्त र रियाको मिल्ने साथी रुमी जाफरीले रिया विस्तारै राम्रो अवस्थामा आउँदै गरेको बताइन् । उनका अनुसार रियाका लागि नयाँ वर्ष ठूलो ट्रामा हुनेछ । किनकी २०२० सबैका लागि खराब नै रह्यो । तर उनको मुद्दामा अलग किसिमको ट्रामा दिइएको छ ।

मध्यम वर्गीय परिवारको प्रतिनिधित्व गर्ने रियाले एक महिना जेल जीवन बिताइसकेकी छन् । त्यहीकारण पनि उनको मनोबल गिरेको अनुमान गरिएको छ । तर रिया नयाँ वर्षमा पुनरागमन गरेर आफूलाई स्फुर्ति दिने ध्याउन्नमा छिन् ।

रुमीले बलिउडले रियालाई खुशीमा साथ स्वागत गर्ने दाबी गरेका छन् । ‘हालैमात्र मैले उनलाई भेटेको थिएँ । उनी शान्त थिइन् । उनले धेरै कुरा गरिनन् ।’ उनले भनेकी छन् । याहूले सन् २०२० मा सर्वाधिक खोजिएको सेलिब्रेटीको सूची सार्वजनिक गर्दा पहिलो नम्बरमा सुशान्त नै थिए । सूचीमा रिया तेसे स्थानमा थिइन् । गुगल सर्चमा रिया सातौं स्थानमा छिन् ।