दि पोन्डमा जेकेको एक्सन कट

काठमाडौं । निर्देशक जनकराज खकुरेल ‘जेके मास्टर’ ले ‘दि पोन्ड’ नामक फिल्म निर्माण गर्ने भएका छन् । खोला किनारामा ढुंगा–गिट्टी फोडी जीवनयापन गर्ने एक परिवारको संघर्ष, आरोहअवरोहको कथा प्रस्तुत गरिने फिल्मको हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी निर्देशक खकुरेलले दिएका छन् ।

यसअघि ‘सम्झी दिए पुग्छ,’ ‘खुड्किलो’ लगायतका कमर्शीयल फिल्म निर्देशन गरेका खकुरेलको ‘दि पोन्ड’ मा अभाव,अशिक्षा र गरिबीका कारण सपनाहरु तुहिएका आम नेपालीको चित्रण हुने बताइन्छ । सिल्क रुट मल्टि पर्पाेज प्रालिको ब्यानरमा बलबहादुर श्रेष्ठ निर्माता रहेको फिल्मलाई बिशेष गरि अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा नेपालका तर्फबाट प्रतिस्पर्धामा पठाउने योजना निर्देशक खकुरेलको छ ।

‘कमर्शीयल भन्दा पनि आर्टलाई फोकस गर्दैछु,’ निर्देशक खकुरेल भन्छन्, ‘‘दि पोन्ड’ ले अन्तराष्ट्रिय बजारमा नेपाली फिल्मको उपस्थिति र प्रभाव बढाउने बिश्वास मेरो छ ।’ फिल्ममा थिएटरका कलाकारको बाहुल्यता रहने उनले बताएका छन् ।