धरान । हाल अमेरिकामा रहेका नेपालका ग्ल्याम फोटोग्राफर राजीव श्रेष्ठले अमेरिकाबाट बिगत ४ बर्ष देखि हरेक वर्ष अंग्रेजी नयाँवर्षमा निकाल्दै आएको ग्लाम क्यालेन्डर सन् २०२१ को संस्करण कोभिड–१९ को महामारीले गर्दा डिजिटल फर्म्याटमा निकालेका छन् ।
अमेरिकामा रहेका नेपाली मोडलहरुको फोटोशुट गरि क्यालेन्डरको रुपमा सन् २०१८ देखि श्रेष्ठले ग्लाम क्यालेन्डर प्रकाशन गर्दै आएका छन् । एक बर्ष अर्थात् सन् २०२० को अवधिमा खिचेका फोटोहरुमध्ये उत्कृष्ट र आकर्षक फोटाहरु समावेश गरिएको नयाँवर्ष २०२१ को ग्लाम क्यालेन्डर श्रेष्ठको आधिकारिक सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा उपलब्ध छ ।
हरेक महिनाको पानामा एक मोडललाई प्रस्तुत गरिने ग्लाम क्यालेन्डर २०२१ मा नेपाल र अमेरिकाको ३ जना मोडल मात्र समावेश भएका छन् । समावेश भएको मोडलहरुमा नेपालबाट मिस नेवा शोभा महर्जन, मिस नेपाल युस २००९ को शुरभी खनाल र २०२० मा अमेरिकाबाट चर्चित कला न्यौपाने रहेका छन् ।
ग्लाम क्यालेन्डर २०१८ अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले विमोचन गरेका थिए भने २०१९ क्यालेन्डर ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले गरेका थिए । २०२० को क्यालेन्डर नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रेम विश्वकर्माका साथै नेपाल अमेरिका फिल्म सोशाईटीका अध्यक्ष पूर्णसिंह बराईली, मिस नेपाल यु एस ए सुरबी खनाल, मोडेल कला नेउपाने र नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संजाल ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले संयुक्त रुपमा गरेका थिए ।
नेपालमा रहँदा फोटोग्राफर श्रेष्ठले नै चर्चित नायिकाहरुको ग्लाम फोटोशुट गरि बि.स. २०६५ मा यामाहा ग्लाम २०६५ क्यालेन्डर प्रकाशन गरी ग्लाम क्यालेन्डरको सुरुवात गरेका थिए ।