मेरी बास्सैकी चम्सुरीको काली काली दिलवाली

काठमाडौं । टेलिफिल्म ‘मेरी बास्सै’की चम्सुरी अर्थात पल्पसा डंगोलले गायनमा डेब्यू गरेकी छन् । पल्पसाले आफ्नो स्वरमा नयाँ गीत ‘काली काली दिलवाली’बजारमा ल्याएकी छिन् । नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो ।

दुबईको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन् । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् ।

यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन् । जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ । भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । भिडियोलाई पवन डँगोलले खिचेका हुन् ।

यो गीतमा अशोक राईको संगीत रहेको छ । गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले संयुक्त रुपमा लेखेका हुन् ।