चौथो संस्करणको म्यूजिक भिडियो अवार्डको तयारी

काठमाडौं । कोरोना महामारी पछि सिथिल बनेको मनोरन्जन क्षेत्र विस्तारै सलबलाउन थालेको छ । खास गरी लकडाउन हटेपछि म्यूजिक भिडियो निर्माणको क्रम ह्वात्तै बढेको छ । यही मेसोमा संगिक्षा फिल्मस्ले चौथो संस्करणको ‘म्युजिक भिडियो अवार्ड’ गर्ने भएको छ । फिल्मस्का अध्यक्ष मनोज केसीले तेस्रो संस्करणसम्म सफल रुपमा अवार्ड गरिसकेको कारण चौथो संस्करण पनि सफल हुने बताए ।

उनले सामाजिक सञ्जालमार्फत सन् २०२१ मा चौथो संस्करणको अवार्ड गर्ने घोषणा गरेका छन् । ‘मनोरञ्जनको गतिविधि बढ्दै गर्दा हामीले अवार्ड मार्फत टेवा पुगोस् भन्ने उदेश्यका साथ अवार्डलाई निरन्तरता दिदैछौ’ अध्यक्ष केसीले भने, ‘हामीले विदेशी भूमिमै अवार्ड आयोजना गर्नेछौ ।’ उनका अनुसार स्थान र मिति तोकिएको छैन । अवार्डका लागि फाराम खुला भइसकेको छ ।

यसअघि युएईको अबुधाबी र दुबईमा क्रमशः पहिलो र दोस्रो संस्करण सम्पन्न गरेको अवार्डको तेस्रो संस्करण संगीक्षा फिल्मसले ब्राइट भेन्चरसँगको सहकार्यमा सन् २०१८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको थियो । अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाको गीत अन्तर्गत गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायांकार, निर्देशक, सम्पादकबीच ३० विधामा अवार्ड प्रदान गरिनेछ ।