काठमाडौं । नेपालको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकीय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ । नेपालको ७७ वटै जिल्लामा विभिन्न समयमा खिचिने यस टेलिचलचित्र यस पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा प्रसारण समय र टेलिभिजनबारे जानकारी गराइयो ।
कार्यक्रममा अतिथीको रुपमा उपस्थित भएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रशंसा गरे । उनले नेपालको पर्यटकिय क्षेत्रहरुलाई एक टेलिचलचित्रमार्फत देशब्यापी बनाउन खोजेको भन्दै सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरे । सुचना तथा सञ्चार मन्त्रालयका प्रेस विज्ञ राजेन्द्र मानन्धरले अहिलेको कोरोनाको अवस्थामा पनि देशको पर्यटनलाई उठाउन मद्धत गरेको भन्दै टेलिचलचित्र टिमलाई शुभकामना दिए ।
टेलिचलचित्रको पहिलो चार भाग नेपालको पर्यटकीय क्षेत्र जुम्ला र मुगुमा खिचिएको छ । कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको प्रोमो पनि देखाइएको थियो । टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केही कलाकारसँगै अधिकांश स्थानीय कलाकारको अभिनय रहेको छ ।
टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले छायांकनको क्रमको अनुभव सुनाउँदै जुम्ला र मुगुको सुन्दरताले आफूलाई लोभ्याएको बताए । जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिनुभयो । ‘नेपालको पर्यटन, संस्कृती, प्राकृतिक बिबिधता, भाषा, जात, धर्म तथा बिभिन्न पर्वहरुको प्रचार तथा त्यसको संरक्षणका लागी बज्रलिंक मिडियाले यसअघि पनि काम गर्दै आएको छ । यसपटक हामी हाम्रो नेपालको पर्यटनलाई देशब्यापी बनाऔं भनेर हाम्रो तर्फबाट सोचेर यो टेलिचलचित्र निर्माण गरेका हौं’, निर्माण कम्पनी बज्रलिंक मिडियाका अध्यक्ष समेत रहनुभएका निर्देशक लामाले भने ।
टेलिचलचित्रको प्रत्येक भाग ३० मिनेट बराबरको हुनेछ । ३० मिनेटको एक भाग समेटिने यस टेलिचलचित्र प्रत्येक जिल्लामा ३ देखी ५ भाग सम्म छांयाकन हुने बताइएको छ । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिचित्रमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमश्रृंखलाहरु, तालहरु, नदि नालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुखजात्रा, पर्व, मेलाहरु, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति बिशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थीत पर्यटक लक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, बिकाश निर्माणका कार्यहरु आदि समेटिने बताइएको छ ।
टेलिचलचित्रमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ । प्रवेश पोखरेल र गोकुल रावतले खिचिरहनु भएको छ भने रबिन भट्ट र सौखिन तिमल्सिनाको सम्पादन रहनेछ । टेलिचलचित्रमा कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ । कथा लेखक रेशम बुढाथोकी छन् ।