केजीएफका यशलाई कानूनी पत्र

मुम्बई(एजेन्सी) । कन्नड अभिनेता यशलाई कानूनी पत्र पठाइएको छ । उनको बहुप्रतिक्षित फिल्म ‘केजीएफ चेप्टर २’मा प्रयोग गरिएको एक दृश्यलाई कारण जनाउदै कर्नाटक स्वास्थ्य विभागले उनलाई पत्र पठाएको छ ।

छोटो समयमा नै लोकप्रिय रहेको यो टिजरको एक दृश्यमा यशले चुरोट तानेको दृश्य देखाइएको छ । यो दृश्यमा विभागको आपत्ति रहेको सञ्चारमाध्यमले जनाएका छन् । टिजरको एक दृश्यमा यशले मेसिन गनको रातो तातो बेरलबाट चुरोट बालेका छन् । यही दृश्यमा आपत्ति जनाउदै विभागले पत्र काटेको हो ।

विभागले टिजर र पोस्टर दुवैले चुरोट पिउन प्रोत्साहित गरेको दाबी गरेको छ । टीजरलाई सामाजिक सन्जालको प्लेटफर्मबाट हटाउन अपिल गरिएको छ । विभागले पर्दामा देखाउदा त्यस्तो दृश्यमा ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने वाक्य लेख्न भनिएको छ । तर टिजरमा यस्ता कुरा केही लेखिएको छैन ।

‘यश तपाईं एक राम्रो व्यक्ति हो र तपाईंको धेरै फ्यान फलोइङ छन् । तपाईंको एक्सन यस्तो हुनुपर्छ कि जो युवालाई गुमराहमा नपरुन् । हामी चाहन्छौं कि तपाईं चुरोट पिउने विरुद्धको हाम्रो अभियानमा सरिक हुनुहोस्’ पत्रमा लेखिएको छ ।

यशले टिजरमा चुरोट पिएको दृश्यको स्क्रिनसट सामाजिक सन्जालमा भाइरल भएको थियो । प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालममा रिलिज हुनेछ ।