सिरिजमा आउदै मेरो अदालत

काठमाडौं । कोभिडको कारण घरमै बसेर नयाँ प्रकारका सिरिजमा दर्शक रमाइरहेको यो समयमा अभिनेता रवी कार्कीले नयाँ सिरिज ‘मेरो अदालत’ निर्माणको घोषणा गरेका छन् ।

देशमा घटिरहेका विविध घटनाहरु र ती घटनाका अधिकांश पीडितले न्याय नपाइरहेको पछिल्लो अवस्थामा यो सिरिजमा केही सत्यघटना, केही काल्पनिक तथा केही सत्यघटनाबाट प्रभावित भएर तयार गरिने छ ।

यस सिरिजमा रामेशकुमार राईको निर्देशन हुनेछ । निर्देशक राई यतिबेला भोजपुरी फिल्म ‘जंगबाज’को लागि भारतमा रहेको बुझिएको छ । सिरिजका कथाकारसमेत रहेका रवी कार्की तथा निर्माताद्वय सुर्य सिजी र पर्वत राईले सिरिजको थिम पोष्टर सार्वजनिक गर्दै केहि दिनमा नै छायांकनमा जाने जानकारी दिएका छन् ।

पोष्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ भने न्यायमुर्तिको अनुहारमा रातो पोतिएको देखाइएको छ । रिएण्डकी फिल्मसको व्यानरमा निर्माण हुने यस सिरिजकी सह–निर्माता मालती कार्की हुन् ।

यस सिरिजका कलाकारहरु भने केही दिनमै अडिसनमार्फत छनोट हुने र राष्ट्रियस्तरको टेलिभिजनबाट प्रसारण हुने निर्माण पक्षले जनाएको छ ।