शिक्षक बन्न जुम्ला पुगे प्रदीप खड्का

काठमाडौं । निर्देशक दिनेश राउतको निर्देशन रहने फिल्म ‘प्रकाश’को मुहुर्त गरिएको छ । मनकामना मन्दिर पुगेर फिल्मका कलाकार, प्राविधिकले पूजा गरेका छन् । फिल्मको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । प्रदीप खड्काको मुख्य भुमिका रहने फिल्मले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने छ ।

फिल्ममा प्रदीपको जोडी डेव्यु अभिनेत्री रेनु योगीसँग बाँधिएको छ । दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण हुने फिल्ममा महेन्द्र अधिकारीको लगानी रहनेछ । राजेश श्रेष्ठले खिच्ने फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको सिनेमामा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ ।

प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको सिनेमालाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएको छन् ।