काठमाडौं । फिल्म ‘गोर्खे’ अस्ट्रेलियामा पुनः प्रदर्शनमा आउने भएको छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको सहकार्यमा डि व्वाइज इभेन्ट्सले अस्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शन गर्ने क्रममा क्यानबेराका नेपाली दर्शकमाझ आगामी अप्रिल २३ मा यो फिल्म प्रदर्शन गर्न लागेको हो ।
फिल्मको क्यानबेरा प्रदर्शनका लागि डि व्वाइज इभेन्ट्सलाई यु रेमिट हसल फ्रिले सहकार्य गरेको छ । क्यानबेरास्थित लाइमलाइट सिनेमाजमा प्रदर्शन हुन लागेको फिल्मका लागि टिकट बुकिङ खुला गरिएको छ ।
डि व्वाइज इभेन्ट्सका सिइओ गणेश मल्ल ठकुरीले दर्शकको उल्लेख्य सहभागिता रहने बताए । उनले भने, ‘सिड्नीको सफलतापछि हामीले क्यानबेरामा प्रदर्शन गर्दैछौं । कोभिडको असरका बाबजुद पनि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन गर्न सकिएकोमा र नेपाली दर्शकले साथ दिएकोमा सबैप्रति कृतज्ञ छु ।’
कोजु इन्टरटेन्टमेनको व्यानरमा हरि लामाको प्रस्तुती र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको विषयमा निर्माण भएको हो ।
फिल्ममा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतका कलाकारको प्रमुख अभिनय रहेको छ ।
फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांंकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका हुन् ।