इमरानको फिल्म हेर्न पाकिस्तानमा भागदौड

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता इमरान हाशमी दर्शकमाझ ‘सिरियल किसर’का रुपमा परिचित छन् । बलिउडमा किसिङ दृश्यको ट्रेण्ड सुरु हुँदा इमरानले कैयौं फिल्ममा किसिङ दृश्य दिएका छन् ।

बलिउडमा इमरानको बारेमा एउटा किस्सा निकै रोचक छ । उनको किस्सा पाकिस्तानी दर्शकसँग जोडिएको छ । समाचारअनुसार यी भारतीय अभिनेताको फिल्म हेर्न पाकिस्तानको फिल्म हलमा भागदौड नै मच्चिएको थियो ।

इमरानको पहिलो फिल्म ‘फुटपाथ’ बक्सअफिसमा हिट नभए पनि यसले आफ्नो लगानी सुरक्षित गरेको थियो । उनको दोस्रो फिल्म ‘मर्डर’मा अभिनेत्री मल्लिका शेरावतसँग गरेको किसिङ दृश्यले उनलाई चर्चित बनायो ।

यो फिल्म सन् २००४ को हिट साबित भयो । यही फिल्मपछि उनलाई बलिउडमा ‘सिरियल किसर’को पहिचान मिल्यो । सन् २००८ मा उनको फिल्म ‘जन्नत’ रिलिज भयो । यो फिल्मले इमरानलाई टप स्टारको सूचीमा ल्याएर उभ्यायो ।

म्याच फिक्सिङमा आधारित फिल्ममा इमरानले एक बुकीको भूमिका निर्वाह गरेका थिए । यो फिल्मको प्रपोजल दृश्यको सेपरेट फेनबेस छ । जब यो फिल्म पाकिस्तानमा रिलिज भयो, तब लाहोरको एक थिएटरमा यो फिल्म हेर्न भागदौड नै मच्चियो ।