तेलुगूमा काम खोज्दै सुशान्तकी प्रेमिका रिया

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री रिया चक्रवर्तीका लागि गएको एक वर्ष कुनै खराब सपनाभन्दा कम थिएन । गत वर्षको जून १४ मा उनको अभिनेता प्रेमी सुशान्तसिंह राजपूत बान्द्रास्थित अपार्टमेन्टमा मृत भेटिएका थिए ।

यसपछि रियालाई सुशान्तलाई आत्महत्याका लागि उक्साएको आरोप लागेको थियो । रियालाई लागुऔषध मुद्दामा केही दिन जेलमा पनि बस्नुपर्यो । यही कारणले अहिले रियाले बलिउडमा काम पाउन सकेकी छैनन् ।

रियालाई सामाजिक सञ्जालमा निकै लक्षित गरिएको थियो । यहीकारण उनलाई लिएर फिल्म बनाउन निर्माताहरु डराइरहेका छन् । रिया हालका दिनमा हैदराबादमा छिन् र उनी तेलुगू फिल्ममा आफ्ना लागि काम खोज्दैछिन् । तेलुगूका एक सुपरस्टारले रियाका साथ काम गर्न इच्छा जाहेर गरेका छन् ।

बलिउडका ठूला अभिनेत्रीहरु तेलुगू फिल्ममा निकै मोटो पारिश्रमिक लिन्छन् । तर रियाको मामलामा यो लागु छैन । रिया सुन्दर छिन् र प्रतिभावान पनि छिन् । त्यहीकारण उनले तेलुगूमा छिटो काम पाउनेमा विश्वस्त छन् ।

रियाले फिल्मी करियरको सुरुवात तेलुगू फिल्म ‘तुनीगा तुनीगा’बाट सन् २०१२ मा गरेकी थिइन् । त्यहीकारण पनि उनलाई तेलुगू फिल्म पाउन कुनै समस्या छैन ।

रिया चाँडै नै फिल्म ‘चेहरे’मा देखिँदैछिन् । यो फिल्ममा अमिताभ बच्चन र इमरान हाशमी प्रमुख भूमिकामा छन् । फिल्म अप्रिल ९ २०२१ मा रिलिज हुनुपर्ने थियो, तर कोरोना भाइरसको दोस्रो लहरले फिल्म रिलिज पछि सर्यो । अब तेलुगू फिल्ममा रियाले अभिनय गर्छिन या बलिउडमै फर्किन्छिन् त्यो भने हेर्न बाँकी छ ।