युट्युबमा आउदै नाटक मितज्यू

काठमाडौं । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटक ‘मितज्यू’लाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । सोमनाथ खनाल लिखित तथा दयाहाङ राई निर्देशित नाटकलाई मण्डलाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गर्न लागेको हो । नाटक यही शुक्रबार साँझ ५ बजे प्रिमियर हुनेछ ।

नाटक दुई वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्ल्यासब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा दर्शकले हेर्न पाउनेछन् ।  दयाहाङका अनुसार मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ ।

यो नाटक सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको थियो । नाटक डिजिटल प्लेटफर्मबाट सार्वजनिक हुने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको छ । नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो ।

नाटकमा बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका रहेको छ । राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकमा शैलेन्द्रध्वज कार्कीको छायांकन, बेनुका राईको संगीत छ । नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

नाटक प्रिमियर पश्चात अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्र्तक्रिया गरिनेछ । अन्र्तक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।