आफूलाई पढाउने शिक्षिकालाई मनपराउथे सुशान्त

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको केही दिन अघिमात्र एक वर्ष पुगेको छ । उनलाई सम्झँदै सुशान्तको कैयौं पुराना तस्वीरहरु र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनीसँग जोडिएका पुराना किस्सा पनि फ्यानका लागि सम्झने माध्यम बनेका छन् ।

सन् २०१९ मा सुशान्त एक इभेन्टमा वक्ताका रुपमा पुगेका थिए । त्यही बेला उनले आफ्नो साँचो प्रेमको बारे खुलाएका थिए । उनको त्यो साँचो प्रेम न त रिया चक्रवर्ती थिइन्, न त अंकिता लोखण्डे नै । जबकी उनको प्रेम आफ्नो कक्षा चारको शिक्षिकासँग भएको थियो ।

‘मैले शिक्षिकालाई प्रेम प्रस्ताव गरिनँ । किनकी मलाई परीक्षामा पास हुनु थियो । तर मैले कक्षा नौमा पढ्दा पहिलो प्रेम प्रस्ताव पाएँ’, उनले भनेका थिए ।

उनले आफ्नो पहिलो डेटको पनि खुलासा गरेका थिए । ‘म इञ्जिनियरिङ विद्यार्थीलाई पढाउँथे । त्यो पैसाले मैले एउटा बाइक किनेको थियो । त्यसपछि मेरो पहिलो डेट पराठा खान त्यही बाइकमा मुरथल गएको थिएँ’, उनले सम्झेका थिए ।

सुशान्तको निधन गत वर्षको जून १४ मा भएको थियो । उनको मृत शरीर मुम्बईस्थित आफ्नै निवासमा भेटिएको थियो ।