प्रदेश १ मा फिल्मकर्मीको हातेमालो अभियान

इटहरी । फ्रन्टलाइनमै रहेर प्रदेश १ को कलाकार तथा प्राविधिकको हकहित र प्रदेश १ लाई चलचित्रनगरी बनाउन लागि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ले ‘हातेमालो अभियान’ सुरु गरेको छ । महासंघले सुरु गरेको यो अभियानमा प्रदेश १ बाट फिल्म गतिविधिलाई समेट्ने एकमात्र डिथ्री अनलाइन, चलचित्र पत्रकार संघ, नेपाल, प्रदेश १ तथा सुनसरी शाखा, होप धरानलगायत संस्था सहयोगी छन् ।

महासंघका उपाध्यक्ष प्रकाश सुब्बाले सोमबारबाट सुरु अभियानमा हालसम्म प्रदेश १ को बिर्तामोड, धरान, विराटनगर, इटहरी, इनरुवा र दुहबीमा रहेका १ सय भन्दा बढीको नाम राहतका लागि संकलन गरिएको बताए ।

‘संकलन गरिएका नामहरुमा धेरै मात्रामा प्राविधिकहरु रहेका छन् । कलाकारसँगै केही सहायक निर्देशकहरु पनि रहेका छन्’, उनले भने । महासंघमा फिल्मसँग सम्बन्धित प्रदेश १ भरिका १५ वटा संघ आबद्ध रहेका छन् । अहिले सबै संघबाट अन्य प्राविधिक तथा कलाकारहरुको नामवली आउने क्रम जारी रहेको सुब्बाले बताए ।

महासंघका अध्यक्ष तथा अभियानका संयोजक अरुणकुमार प्रधानका अनुसार राहत पाउनेको नाम, ठेगाना र तस्वीर सार्वजनिक गरिने छैन । ‘गोपनियता र प्राविधिक, कलाकारको आगामी भविष्यलाई पनि सामाजिक सञ्जालमा ती तस्वीरलाई राख्दा असर गर्लाकी भन्ने हेतुले यस्तो निर्णय गरिएको हो’, उनले भने ।

गतवर्ष पहिलो लहरको कोभिड हुँदा पनि सामाजिक अभियन्ताको रुपमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १, ह्वाइट हाउस होटल मेनेजमेन्ट कलेज धरान तथा विभिन्न दाताहरुको सहयोगमा दुई हजार भन्दा बढीलाई राहत वितरण गरिएको थियो ।

साथै महासंघले सो बेला १० हजार बढी मास्कसमेत वितरण गरेको थियो । उक्त बेला महासंघको अभियानलाई बेलायतबाट इनास युकेले पठाएको सयौ थान कपडाहरु धरान, इटहरी, विराटनगरका आश्रममा वितरण गर्नेदेखि घरवारविहीन सडक मानवलाई खाना खुवाउने जस्ता सामाजिक काममा सहयोग गरिएको थियो ।