सुशान्तको वार्षिकीमा सागरले बनाए सुशान्त पेन्टिङ

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको सोमबार एक वर्ष पुगेको छ । उनका फ्यानहरु अझै पनि उनको निधनको विश्वास गर्न सकेका छैनन् । ती फ्यानमध्येका एक सागर कांबली पनि सुशान्तको निधनबाट निकै दुःखी छन् ।

उनले आफ्नो मनपर्ने अभिनेताको वार्षिकीमा उनलाई श्रद्धाञ्जली दिन अभिनेताका विभिन्न चित्र कोरेका छन् । सागर मुम्बईको लालबाग इलाकामा एक पेन्टिङ पसल चलाउछन् । उनी पसलमा बलिउडका ठूला हस्तीका मात्र होइन, विश्वका सफल व्यक्तिको पेन्टिङ पनि गर्छन् ।

सुशान्तको निधनको पहिलो वार्षिकीमा सागरले सुशान्तको एउटा मात्र होइन, कैयौं पेन्टिङ बनाएर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ देखि लिएर हिट फिल्म ‘छिछोरे’, क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक फिल्म ‘धोनी–द अनटोल्ड स्टोरी’सहित सुशान्तको बाल्यकालको तस्वीरको पेन्टिङ पनि बनाएका छन् ।

‘मेरो कलात्मकताका माध्यमबाट निस्किएको सुशान्तको पेन्टिङ नै उनका लागि मेरो सच्चा श्रद्धाञ्जली हो’, उनी भन्छन्, ‘सुशान्त निकै आशलाग्दा र ठूला कलाकार थिए । आज यदि उनी जिउदो भएको भए आफूलाई विश्वले कति मनपराउछ भन्ने थाहा पाउथे ।’

उनले पहिलोपटक सुशान्तको फिल्म ‘धोनी–द अनटोल्ड स्टोरी’ हेरेपछि सुशान्तको अभिनयको फ्यान भएका थिए । त्यहीकारण उनले यो फिल्म पटक पटक हेरेका थिए । ‘मैले त्यो फिल्म ६० पटकसम्म हेरें’, उनले भनेका छन् ।