भर्चुअल विधिमा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौ । अमेरिकाको मेरिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१’ यसपटक भर्चुअल विधिबाट हुने भएको छ । महोत्सव यही जून १७ देखि २० सम्म हुँदैछ ।

महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा फिल्महरु प्रदर्शन हुने कुरा आयोजकले जनाएका छन् ।

महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत निशुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्मलाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट फिल्महरुको पुरस्कार घोषणा गर्नेछ । नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् । महोत्सवमा आवेदन परेका फिल्महरुलाई फिल्म सोसाइटीको फिल्म छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ ।