थलापति ६६ मा थलापतिको पारिश्रमिक सय करोड

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका अभिनेता थलापति विजय यो वर्ष फिल्म ‘मास्टर’बाट दर्शकमाझ आए । कोरोना महामारीका बाबजुद पनि फिल्मले बक्सअफिसमा २ सय करोड बढी कमाई गर्यो ।

फिल्मको व्यावसायिक सफलतापछि दक्षिण भारतीय फिल्मका कैयौं निर्माता तथा निर्देशक उनीसँग काम गर्न लालयित भइरहेका छन् । उनले मागेजति रकम दिन पनि निर्माताहरु तयार भइरहेका छन् ।

उनले प्रख्यात निर्माता दिल राजूको नयाँ फिल्म ‘थलापति ६६’ मा सय करोड बढी पारिश्रमिक लिएका छन् । दिलले यसअघि नै थलापतिलाई टोकन एडभान्सका रुपमा १० करोड रुपैंयाँ दिइसकेका छन् ।

दिल र निर्देशक वामसी पडपिल्लीको यो फिल्म फ्लोरमा आउनसाथ थलापतिलाई निर्माताले नियमित किश्तामार्फत बाँकी भुक्तानी गर्नेछन् । सय करोड पारिश्रमिक लिएपछि थलापति दक्षिण भारतीय फिल्ममा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा परेका छन् ।

निर्देशक पेडिपल्लीले यसअघि ‘थोझा’, ‘महर्षि’ र ‘ऊपिरी’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।