निशालाई अमेरिकाबाट ५१ हजार सहयोग

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेलाई अमेरिकामा बस्दै आएका नेपाली कलाकारहरुले आर्थिक सहयोग गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजको पहलमा अमेरिकामा बस्दै आएका फिल्मकर्मीहरुबाट ५१ हजार रुपैंयाँ आर्थिक सहयोग गरेका हुन् ।

जसअनुसार सुमन दाहालबाट ५० डलर, अशोक श्रेष्ठबाट ५५ डलर, किशोर सुब्बाबाट ५१ डलर, गोपाल चन्द्र लामिछानेबाट ५१ डलर, अक्की शर्माबाट ५१ डलर, पवन गौतमबाट ५१ डलर, अनिल संग्रौलाबाट ५१ डलर, दिनेश कार्कीबाट एकाउन्न डलर गरि जम्मा ४ सय ११ डलर र नेपालबाट चलचित्र पत्रकार रघुनाथ सापकोटाबाट गरेर ५१ हजार १ सय रुपैयाँ निशाको निवास ललितपुर बुङमती पुगेर उनको आमालाई हस्तान्तरण गरिएको हो ।

उक्त नगद चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुली, कार्यसमिति सदस्य देवेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार रघुनाथ सापकोटाले हस्तान्तरण गरेका थिए ।

तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घटनामा परेकी घिमिरेको उपचारमा हालसम्म झण्डै ३० लाख रुपैंयाँ बढी खर्च भइसकेको छ । उनको नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी र नवजीवन परोपकार समाजको सक्रियतामा घरबाट उद्धार गरी निःशुल्क उपचार भइरहेको छ ।

उनका पिता प्रेम घिमिरेका अनुसार निशाको स्वास्थ्यमा धेरै सुधार भइरहेको छ । निशाले जनकदिप पराजुली निर्देशित मेगा सिरियल ‘डियर जिन्दगी’ र म्युजिक भिडियो ‘साथी’मा अभिनय गरेकी छन् ।

निशाकी आमाले छोरीका लागि उठेको सहयोग रकम निशा अस्पतालबाट डिस्चार्ज भए पछि हुने उनको थेरापी तथा अन्य उनको उपचारमा नै खर्च गरिने बताइन् ।