माणिक रत्नलाई एक लाख रुपैंयाँसहित सम्मान

काठमाडौं । संगीतकार संघ नेपालले यस वर्षको ‘अजर अमर सम्मान २०७८’बाट संगीतकार तथा गायक माणिकरत्न स्थापितलाई सम्मानित गरेको छ । नेपाली सुगम तथा पाश्र्व संगीतका गायक तथा संगीतकार माणिकलाई संगीतकार संघ नेपालले एक लाख १ हजार १ सय ११ रुपैंयाँसहित सम्मान गरेको हो ।

उनलाई संस्थापक अध्यक्ष तथा संरक्षक शम्भुजीत बासकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुरको खुमलटारस्थित निवासमा पुगेर सम्मान हस्तान्तरण गरेका थिए ।

वि.सं १९९४ सालमा काठमाडौंको मख्खन टोलमा जन्मिएका माणिकले २००७ सालमा बालगीतमा स्वर प्रदान गरेर औपचारिक रुपमा गायन क्षेत्रमा पाइला चालेका थिए ।

उनले गाएका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आउ जुन कोठामा राती’, फिल्म ‘कुमारी’को ‘सुनौलो घाम झुल्केन’लगायतका गीतहरु लोकप्रिय छन् । २०१३ सालमा माणिक र गायक प्रेमध्वज प्रधान मिलेर सुरु गरिएको ‘प्रेम माणिक’नामले कैयौं कालजयी संगीत सिर्जना गरिसकेको छ ।

गायक प्रेमध्वजले गाएको गीत ‘गोरेटो त्यो गाउँको’मा प्रेम–माणिककै संगीत छ । कोरोना संक्रमणसँगै अन्य रोगको उपचार पछि माणिक घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् ।