अलग्गिए आमिर र किरण

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव अलग्गिने घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि यो जोडीले एक विज्ञप्तीमार्फत आफूहरु अलग्गिने घोषणा गरेका हुन् । उनीहरुको एक सन्तान आजाद राव खान छन् ।

‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरका अनुभव, खुशी, हाँसो बाडेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ । अब हामी जीवनको एउटा नयाँ अध्याय सुरु गर्न चाहन्छौं– त्यो पति र पत्नीको रुपमा हुने छैन । हामी सह–आमाबाबु र परिवारका रुपमा मात्र रहनेछौं’, विज्ञप्तीमा भनिएको छ ।

उनीहरुले यसअघि नै अलग्गिने तयारी भए पनि अहिले सही समय आएको उल्लेख गरेका छन् । ‘हामीहरुले केही समय पहिले नै योजनाबद्ध किसिमले अलग्गिने तयारी थालेका थियौं । अहिले भने यो कामलाई औपचारिकता दिन सहज महशुस गरेका छौं । हामी छोरा आजादप्रति समर्पित अभिभावकहरु नै छौं, जसलाई हामी पालनपोषण गर्नेछौं र सँगै हुर्काउनेछौं । हामी फिल्म, पानी फाउण्डेसन र अन्य प्रोजेक्टहरुमा सहयोगीका रुपमा काम जारी राख्नेछौं’, विज्ञप्तीमा उल्लेख छ ।

आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो । यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । केही समय सँगै बिताएपछि उनीहरुले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए । उनीहरुले पहिलो सन्तान आजादलाई सरोगेसीका रुपमा सन् २०११ मा जन्म दिएका थिए ।

आमिरले यसअघि रीना दत्तसँग विवाह गरेका थिए । विवाहको १६ वर्षपछि उनीहरुले सन् २००२ मा डिभोर्स गरेका थिए । उनीहरुको छोरी इरा र छोरा जुनैद छन् ।